काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले नेपाली फुटबलमाथि लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्।
थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का उच्च पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को तहगत निर्वाचन गराउन फिफा र एएफसी सहमत भएको जानकारी दिएका हुन्।
उनका अनुसार निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको कार्ययोजना (रोडम्याप) पठाउनेछ। तर, एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गराउने वा अन्तरिम समिति गठन गर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ।
सरकारले नेपाली फुटबलको समस्या समाधानका लागि देखाएको चासोलाई फिफाले सकारात्मक रूपमा लिएको मन्त्री पोखरेलले बताए। उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए।
एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए।










Discussion about this post