काठमाडौं । चीन भ्रमणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच भएको आन्तरिक राजनीतिक संवादको अडिओ सार्वजनिक भएपछि सांसद श्रीराम न्यौपानेले स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक अडिओमा नेपाली कांग्रेसको आधिकारिकता, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेता महेश बस्नेतको राजनीतिक भूमिकालगायत विषयमा सांसदहरूबीच भएको कुराकानी सुनिन्छ। संवादमा कांग्रेसको आधिकारिकता शेरबहादुर देउवालाई दिनुपर्ने र ओली तथा बस्नेत थप आक्रामक हुँदा रास्वपालाई राजनीतिक लाभ पुग्न सक्ने आशयसमेत व्यक्त भएको सुनिएको छ।
न्यौपानेले शुक्रबार चीन भ्रमणका क्रममा रोबोट हिँडिरहेको भिडिओ आफ्नो फेसबुकमा सार्वजनिक गरेका थिए। सोही भिडिओमा सांसदहरूबीचको अनौपचारिक राजनीतिक संवाद पनि रेकर्ड भएको थियो। अडिओ सार्वजनिक भएपछि उनले उक्त भिडिओ हटाएका थिए। तर, जनआस्थाका सम्पादक किशोर श्रेष्ठले भिडिओ आफ्नो फेसबुकमा राखेपछि विषय थप चर्चामा आएको हो।
विवाद बढेपछि न्यौपानेले अर्को फेसबुक पोस्टमार्फत संवादको आशय स्पष्ट पारेका छन्। उनले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाका कारण रास्वपाले ठूलो जनमत प्राप्त गरेको उल्लेख गरेका छन्।
जनताले दिएको अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिनुपर्ने उनको भनाइ छ। जनताको अपेक्षाअनुसार काम गर्न नसके आगामी निर्वाचनमा रास्वपाले पनि विगतका राजनीतिक दलले जस्तै जनविश्वासको संकट सामना गर्नुपर्ने उनले बताएका छन्।
न्यौपानेका अनुसार सांसदहरूबीचको अनौपचारिक छलफलको मुख्य निष्कर्ष जनताले दिएको मत र विश्वास स्थायी नहुने तथा त्यसलाई काम, इमानदारी र नतिजामार्फत प्रमाणित गर्नुपर्ने भन्ने थियो।
उनको स्पष्टीकरणपछि चीन भ्रमणका क्रममा रास्वपा सांसदहरूबीच भएको संवाद र त्यसको राजनीतिक आशयबारे बहस थप चुलिएको छ।










Discussion about this post