काठमाडौं । निवर्तमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो।
सरकारले आफूलाई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्।
कार्कीले पदावधि बाँकी रहँदै आफूलाई अर्को जिम्मेवारीमा खटाएर आईजीपी पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गरेका छन्। आफूलाई हटाउनुको कानुनी आधार र कारण नखुलाई तथा स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिई नयाँ जिम्मेवारी दिइएको उनको भनाइ छ।
उनले सरकारको उक्त निर्णयलाई परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भन्दै निर्णय बदर गरी आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गरेका छन्।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।










Discussion about this post