काठमाडौं । नेपालले पर्वतीय क्षेत्रका जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न सम्मेलन अध्यक्ष राष्ट्र तथा प्रमुख वार्ता समूहसँग छलफल अघि बढाएकी छन्।
नेपाल र भुटानले संयुक्त रूपमा प्रस्तुत गरेको प्रस्ताव तथा किर्गिजस्तानको प्रस्तावलाई एकीकृत गरी ‘पर्वत तथा जलवायु परिवर्तन’ विषयमा छलफल अघि बढाउने सहमति भएको मन्त्री चौधरीले जानकारी दिएकी छन्।
यसअन्तर्गत जलवायु परिवर्तनसम्बन्धी सहायक निकायका आगामी अधिवेशनमा पर्वतीय मुद्दाबारे संवाद शृङ्खला सञ्चालन गरिनेछ। उक्त संवादबाट प्राप्त निष्कर्षलाई आगामी कोप सम्मेलनमा प्रस्तुत गर्ने व्यवस्था अन्तिम निर्णयमा समेट्न नेपालले माग गरेको छ।
नेपालले पर्वतीय क्षेत्रका लागि छुट्टै कार्यढाँचा निर्माण, पर्वतविशेष सूचक निर्धारण तथा जलवायु अनुकूलन र वित्तमा पर्वतीय देशको सहज पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्तावसमेत अघि सारेको छ।
त्यस्तै, हिमनदी पग्लिने, नदी प्रणाली प्रभावित हुने र समुद्री सतह बढ्ने विषयबीचको अन्तरसम्बन्धलाई ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणामार्फत अन्तर्राष्ट्रिय जलवायु बहसमा स्थापित गर्न नेपालले जोड दिएको छ।
मन्त्री चौधरीका अनुसार पर्वतीय एजेन्डालाई संस्थागत मान्यता दिलाउनुका साथै हानि तथा नोक्सानी कोषमा रकम वृद्धि र प्रभावित देशको सहज पहुँच सुनिश्चित गर्न नेपालले अन्तर्राष्ट्रिय स्तरमा पैरवी गरिरहेको छ।










Discussion about this post