काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सूर्यदेव र छठी माताको आराधनाले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
उनले भगवान् सूर्यदेव र छठी माताको पूजा–आराधना गरी मनाइने छठ पर्व परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामनासँग जोडिएको बताएका छन्।
छठ पर्वले जीवनको गहिरो दर्शन सिकाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका छन्।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पूजा गर्ने परम्परा रहेको छ।
प्रधानमन्त्री शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। छठ पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
त्यसैगरी, मैथिली भाषामा समेत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले ‘छैठके बहुत रास शुभकामना दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि’ भन्दै छठी माता र सूर्यदेवको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामना गरेका छन्।










Discussion about this post