काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा सहभागी हुन परोपकारी सङ्घसंस्था र इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको छ।
परिषद्ले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न आग्रह गरेको हो। बाढीका कारण रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएको परिषद्ले जनाएको छ। योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिनेछ।
बाढीका कारण बालबालिका स्वयं वा उनीहरूका संरक्षक घाइते भई उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार विशेष संरक्षण आवश्यक पर्ने बालबालिकालाई पनि योजनामा समेटिनेछ।
बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ।
प्रभावित बालबालिकालाई सुरक्षित वातावरणमा हुर्कने अवसर प्रदान गर्न सरकारी निकायसँगै परोपकारी सङ्घसंस्था र व्यक्तिको सहयोग आवश्यक रहेको परिषद्को भनाइ छ।










Discussion about this post