काठमाडौं । आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। मधुमेह रोगबारे जनचेतना अभिवृद्धि, जोखिम न्यूनीकरण तथा समयमै पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले नेपालसहित विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।
यस वर्ष नेपालमा ‘मधुमेह नियन्त्रणका लागि समयमै पहिचान र प्रारम्भिक कदम’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका देशको तुलनामा न्यून तथा मध्यम आय भएका देशहरूमा मधुमेहको समस्या तीव्र गतिमा बढिरहेको छ। बढी तौल र मोटोपना यसका प्रमुख जोखिम कारकमध्ये रहेका छन्।
मधुमेहका कारण अन्धोपना, मिर्गौलाले काम नगर्ने अवस्था, हृदयाघात तथा पक्षाघातजस्ता गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्।
मधुमेह रोग विशेषज्ञ प्रा. डा. बुद्धिप्रसाद पौड्यालका अनुसार स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीले टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिन्छ।
उहाँका अनुसार मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट गम्भीर स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सकिन्छ। यसका लागि स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ।
टाइप–१ मधुमेह छिट्टै विकसित हुन सक्ने भए पनि टाइप–२ मधुमेह विस्तारै विकास हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणलाई महत्त्व दिनुपर्ने चिकित्सकको सुझाव छ।
विशेषगरी ३५ वर्ष उमेर पुगेपछि नियमित रूपमा मधुमेह परीक्षण गराउनु उपयुक्त हुने प्रा. डा. पौड्यालले सुझाव दिनुभएको छ।










Discussion about this post