काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो ।
जनकपुरका कप्तान हरमीत सिंहले ३३ तथा आदित्य महताले अविजित ३० रन बनाए । लुम्बिनीका डार्सी सर्टले ३ विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले २–२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका विशाल सुशलिङ र राहुल यादवले २–२ विकेट लिए ।
यस जितसँगै लुम्बिनी ४ खेलबाट ७ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । लुम्बिनी प्रतियोगितामा हालसम्म अपराजित एकमात्र टोली हो । जनकपुर भने ५ खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साँझ ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
तेस्रो संस्करणको एनपीएलमा ८ टोली सहभागी छन् । प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।










Discussion about this post