सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गर्दै संविधान संशोधनबारे बहस अघि बढाउनुपर्ने बताएका छन्।
रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताएका हुन्।
उनले संघीय व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन संविधान संशोधनको विषयमा समेत छलफल गर्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री शाहीले संविधानले परिकल्पना गरेको सहअस्तित्व, सहकार्य र समन्वयको भावनाअनुसार संघ, प्रदेश र स्थानीय सरकार सञ्चालन हुनुपर्नेमा जोड दिए। तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके संघीयताको उद्देश्यअनुसार जनतालाई सेवा प्रवाह गर्न कठिन हुने उनको भनाइ छ।
उनले आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनले न्यायिक क्षेत्रको एकता, आगामी कार्ययोजना, स्पष्ट नीति र कार्यदिशा तय गर्नुपर्ने बताए।
सम्मेलनको महत्त्व यसको आयोजना स्थल र प्राकृतिक सुन्दरतामा मात्रै सीमित नरहेको उल्लेख गर्दै उनले यसबाट न्यायिक क्षेत्रको सुधार र आगामी कार्ययोजना निर्माणमा ठोस योगदान पुग्नुपर्ने बताए।
मुख्यमन्त्री शाहीले पर्यटकीय गन्तव्य राराको सुन्दरतासँगै त्यहाँ आवश्यक पूर्वाधार तथा सुविधाको अभाव रहेको विषयसमेत औँल्याएका थिए।










Discussion about this post