बैतडी । गरिबी र आर्थिक अभावका कारण वर्षौँदेखि अधुरो रहेको गायक बन्ने सपना बैतडीका परि विकले ३८ वर्षको उमेरमा पूरा गरेका छन्। बाल्यकालदेखि गीत–संगीतमा रुचि राख्दै आएका दशरथचन्द नगरपालिका–७ निवासी विकले आफ्नो पहिलो देउडा गीत ‘मै झानौँ परदेश’ सार्वजनिक गरेका हुन्।
बुवा मदन विक र आमा सरु विकका छोरा परि विकलाई ९–१० वर्षको उमेरदेखि नै गीत गाउने र गायक बन्ने रहर थियो। तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले लामो समयसम्म आफ्नो प्रतिभालाई सांगीतिक क्षेत्रमा प्रस्तुत गर्न सकेनन्।
गीत गाउने इच्छा हुँदाहुँदै पनि स्टुडियोमा पुगेर गीत रेकर्ड गर्ने आर्थिक अवस्था नहुँदा उनको सपना अधुरै रह्यो। जीविकोपार्जनका लागि मजदुरी गर्दै आएका विकले विदेश जानुभन्दा आफ्नै देशमा श्रम गरेर जीवन अगाडि बढाउने बाटो रोजे।
वर्षौँसम्म मजदुरी गरेर कमाएको रकमबाट उनले अन्ततः आफ्नो सांगीतिक सपना पूरा गर्ने प्रयास थाले। सोही प्रयासस्वरूप ३८ वर्षको उमेरमा उनले पहिलो देउडा गीत ‘मै झानौँ परदेश’ दर्शक तथा श्रोतामाझ ल्याएका हुन्।
गीतमा परि विक र भगवती रावलको स्वर रहेको छ। गीतका शब्द स्वयं परि विकले लेखेका हुन् भने संगीत संयोजन, मिक्सिङ, रेकर्डिङ तथा निर्देशन किशोरकुमार भण्डारीले गरेका छन्।
कैलालीको अत्तरियास्थित अलिशा डिजिटल स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो। गीतको संगीत तथा रेकर्डिङ कार्य अलिशा डिजिटल स्टुडियोमा सम्पन्न भएको हो भने पोस्ट प्रोडक्सन सुदूर खबर वानले गरेको छ।
लामो समयदेखि मनमा सजाएको सपना पूरा हुँदा आफू निकै खुसी रहेको विक बताउँछन्। उनले आफ्ना गीत सुनेर प्रतिक्रिया दिन तथा माया र साथ दिन सम्पूर्ण गीत–संगीतप्रेमी दर्शक तथा श्रोतासँग आग्रह गरेका छन्।
आर्थिक अभावका कारण प्रतिभा हुँदाहुँदै पनि अवसरबाट वञ्चित हुनुपरेका विकको सांगीतिक सुरुवात संघर्ष र आत्मविश्वासको उदाहरण बनेको छ। उनको यो यात्राले सपना पूरा गर्न उमेरभन्दा पनि इच्छाशक्ति, मेहनत र निरन्तर प्रयास महत्त्वपूर्ण हुने सन्देश दिएको छ।










Discussion about this post