अस्ट्रेलिया – नेपाली समुदायको सामाजिक सेवामा सक्रिय कञ्चनपुरको बेलौरीका युवा किशोर शाही अस्ट्रेलियाको प्रतिष्ठित Newcastle Volunteer Service Award 2026 का लागि मनोनित भएका छन्।
न्यूक्यासल क्षेत्रकी संघीय सांसद तथा अस्ट्रेलियाको प्रतिनिधिसभाकी उपसभामुख शारोन क्लेडनले अक्टोबर २८ मा आधिकारिक इमेलमार्फत शाहीलाई मनोनयनको जानकारी दिँदै बधाई दिएकी हुन्।
सन् २०१७ मा अस्ट्रेलिया पुगेदेखि नै शाही नेपाली विद्यार्थी तथा समुदायका सदस्यहरूलाई सहयोग गर्दै आएका छन्। विशेषगरी नयाँ विद्यार्थीलाई आवास खोज्न, रोजगारीसम्बन्धी जानकारी लिन तथा अप्ठ्यारो परिस्थितिमा आवश्यक सहयोग र मार्गदर्शन उपलब्ध गराउँदै आएका छन्।
उनले ‘Nepalese in Newcastle’ फेसबुक समुदायमार्फत नेपालीहरूलाई एकजुट बनाउने, विद्यार्थी तथा स्थानीय क्लबलाई सहयोग गर्ने र सार्वजनिक यातायात अवरुद्ध हुँदा कारपुलिङको व्यवस्था मिलाउने काममा समेत योगदान दिँदै आएका छन्।
शाहीको सामाजिक सेवा अस्ट्रेलियामा मात्रै सीमित छैन। उनले नेपालमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लत्ताकपडा, जुत्ता तथा शैक्षिक सामग्री सहयोग गर्नुका साथै उपचारका लागि आर्थिक समस्या भोगिरहेका व्यक्तिलाई आवश्यक सहयोग गर्दै आएका छन्।
स्वयंसेवा र समुदायप्रतिको योगदानको कदरस्वरूप प्रदान गरिने उक्त सम्मानको समारोह आगामी नोभेम्बर १३ मा न्यूक्यासलस्थित साउथ्स मेरेवेदरमा आयोजना हुने तय भएको छ।
आफूलाई प्राप्त मनोनयनलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली समुदायका साथीभाइ, सहयोगी तथा सहकार्य गर्ने सबैको योगदानको सम्मानका रूपमा लिएको शाहीले बताएका छन्।
विदेशमा रहेर पनि नेपाली समुदाय र जन्मभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका शाहीको यो मनोनयनले नेपाली युवाको सामाजिक योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post