काठमाडौं । दशैंपछि मुस्ताङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ। दशैंअघि सुनसानजस्तै देखिने मन्दिर क्षेत्रमा अहिले भक्तजन तथा पर्यटकको उपस्थिति बाक्लिन थालेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म तीन दिनमा १२ हजार १३० जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट ३ हजार ३३, शुक्रबार ४ हजार ८१३ र शनिबार ४ हजार २८४ जना दर्शनार्थी मन्दिर पुगेका हुन्।

गत असोज ११ गतेको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकमा क्षति पुगेको थियो। सडक अवरुद्ध हुँदा करिब दुई सातासम्म आवागमन प्रभावित बनेपछि यसपटक मुक्तिनाथ आउने तीर्थयात्री तथा पर्यटकको संख्या घटेको थियो। सोह्र श्राद्धका बेला बर्सेनि हजारौँ तीर्थालु मुस्ताङ पुग्ने गरे पनि सडकको असहजताले पर्यटक आगमन प्रभावित भएको थियो।
पछिल्लो समय दर्शनार्थीको संख्या बढेसँगै बेनी–जोमसोम सडकखण्डका होटलहरूमा पनि पर्यटकको चहलपहल बढेको छ। पर्यटक आगमन बढेपछि मुस्ताङका स्थानीय उत्पादन, विशेषगरी स्याउ, स्याउबाट बनेका ब्रान्डी, वाइनलगायत कृषि उपजको बिक्रीसमेत बढ्न थालेको छ।
तनहुँबाट मुक्तिनाथ दर्शन गर्न पुगेका सुजन थापामगरले चाडपर्वको बिदा सदुपयोग गर्दै धार्मिक यात्रामा आएको बताए। त्यस्तै, ललितपुरका रत्नबहादुर महर्जन सात जनाको टोलीसहित मुक्तिनाथ दर्शन र कोरला नाका घुम्न आएको बताए।










Discussion about this post