काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ।
ओमानको अल अमिरातमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। रोहितले ८०, दीपेन्द्रले ६९ र देवले ५७ रनको योगदान दिएका थिए।
लिग–२ को शीर्ष छभित्र रहन नेपाललाई जित्नैपर्ने दबाब थियो। ओमानमा जारी शृङ्खलाको पहिलो दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएको थियो।
यो जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोडेको छ। शीर्ष छमा रहँदा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने सम्भावना बलियो बनेको छ।










Discussion about this post