काठमाडौँ । पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ। यस रुटमा उडान गर्दै आएका तारा एयर र समिट एयरले यस वर्ष निर्धारित समयभन्दा अगावै नियमित उडान रोकेका हुन्।
मुस्ताङमा वर्षको दुई पर्यटकीय याममा १८ सिटे जहाजमार्फत पोखरा–जोमसोम हवाई सेवा सञ्चालन हुँदै आएको थियो। जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान बन्द गरेका हुन्।
तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतमा रहेको र समिट एयरको चारमध्ये एउटा जहाज पनि मर्मतका लागि लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो।
समिट एयरका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीका अनुसार सडकमा समस्या हुँदा यात्रुले हवाई टिकट बुकिङ रद्द गरेपछि नियमित उडान स्थगित गर्नुपरेको हो। यद्यपि, चार्टर उडान भने सञ्चालनमै रहने उहाँले बताउनुभयो।
यी दुई वायुसेवा कम्पनीले वार्षिक एक हजार दुई सयभन्दा बढी नियमित उडान गर्दै आएका छन्। पर्यटकीय याम नसकिँदै नियमित सेवा बन्द हुँदा पोखरा–जोमसोम हवाई यात्रामा निर्भर पर्यटक तथा यात्रु प्रभावित हुन सक्नेछन्।










Discussion about this post