एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ ।
सम्भावित बैठकमा आणविक निशस्त्रीकरण र युक्रेन युद्धबारे छलफल हुन सक्ने उहाँले सङ्केत गर्नुभएको छ । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अन्य व्यक्तिले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गर्नुभएको छ ।
समाचार संस्था एएफपीका अनुसार ट्रम्पको अभिव्यक्तिले अमेरिका र युक्रेनबीचको मतभेद थप उजागर गरेको छ ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन देशका राष्ट्रपतिबीच त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताउनुभएको छ । नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा सम्मेलन आयोजना हुने जनाइएको छ ।
यता, चिनियाँ विदेश मन्त्रालयले सम्भावित भेटवार्ताबारे आफूलाई जानकारी नभएको जनाएको छ । युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले भने युक्रेनको सहभागिताबिना हुने बैठकले रुसी राष्ट्रपति पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्न सक्ने चेतावनी दिनुभएको छ ।
सम्भावित भेटवार्ताले युक्रेन युद्ध, आणविक निशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका रूपमा हेरिएको छ










Discussion about this post