महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत तथा नाटक प्रस्तुत गर्दै नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व झल्काएका थिए। विद्यार्थीहरूको सांगीतिक तथा सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई नेपाली समाजमा प्रचलित परम्परा, संस्कृति, रीतिरिवाज तथा चाडपर्व मनाउने तौरतरिकाबारे जानकारी गराउनु रहेको विद्यालयका प्रिन्सिपल चुडामणि शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत सहभागी गराउँदै आएको छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न, सिर्जनात्मक क्षमताको विकास गर्न तथा आफ्नो संस्कृति र परम्पराप्रति सम्मानभाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रिन्सिपल शर्माले बताउनुभयो।
कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति र चाडपर्वको महत्त्वबारे बुझाउनुका साथै आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।








Discussion about this post