काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कूटनीतिक क्षमता, विगतको कार्यसम्पादन र नियुक्तिको औचित्यमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले प्रश्न उठाएका छन्।
संसदीय सुनुवाइका क्रममा सांसद चौलागाईंले झाको प्राज्ञिक पृष्ठभूमि, कूटनीतिक अनुभव तथा सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा गरेको कामबारे प्रश्न गरेका हुन्।
उनले झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा सीमित रहेको टिप्पणी गर्दै बुद्ध सर्किट, नेपालको धार्मिक सम्पदा र नेपाल–श्रीलंका सम्बन्ध विस्तारका लागि प्रस्तुत कार्ययोजना पर्याप्त स्पष्ट नभएको बताए।
भारत र चीनको प्रभाव रहेको श्रीलंकाजस्तो संवेदनशील मुलुकमा नेपालको राष्ट्रिय हित संरक्षण गर्न झाको कूटनीतिक क्षमता पर्याप्त छ कि छैन भन्ने प्रश्नसमेत उनले उठाए। साथै, राजदूत नियुक्तिसम्बन्धी मापदण्ड र समावेशिताका आधारमा गरिएको नियुक्तिको औचित्यमाथि पनि उनले जिज्ञासा राखे।
सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा द्वन्द्वपीडितलाई न्याय दिलाउने विषयमा अपेक्षित प्रगति हुन नसकेको भन्दै चौलागाईंले झाको विगतको कार्यसम्पादनमाथि पनि टिप्पणी गरे।
उनले सार्क र बिमस्टेकजस्ता क्षेत्रीय मञ्चको उपयोग, लुम्बिनी–श्रीलंका धार्मिक पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारका लागि ठोस कार्ययोजना प्रस्तुत गर्न झालाई आग्रह गरेका छन्।










Discussion about this post