काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि नागरिकले कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
हेटौँडामा विद्युत् डिभिजन कार्यालयका प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले सूचना प्रविधिको युगमा विद्युत् बिल भुक्तानीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
प्राधिकरण सञ्चालक समितिले डिजिटल पेमेन्ट विस्तार गर्ने योजना स्वीकृत गरिसकेको जानकारी दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय तहसम्मै पुर्याउनुपर्ने बताए।
‘डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्नुपर्यो । यसबाट नागरिकको समय र लागत बचत हुन्छ भने कर्मचारी व्यवस्थापनमा पनि सहज हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसैले डिजिटल पेमेन्टलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ।’
विद्युतीय माध्यमबाट महसुल भुक्तानी गर्नेको संख्या बढे पनि अपेक्षाअनुसार प्रगति हुन नसकेको उनले बताए। पछिल्लो समय विद्युतीय भुक्तानीको वृद्धि दर निकै न्यून रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले डिजिटल भुक्तानीसम्बन्धी जनचेतना विस्तारमा थप ध्यान दिनुपर्ने बताए।
‘सूचना प्रविधिको जमानामा पनि नागरिक लाइन बसेर पैसा तिर्न आउनुपर्ने अवस्था छ भने प्राधिकरणकै तर्फबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ,’ उनले भने।
मन्त्री श्रेष्ठले विद्युत् चुहावट नियन्त्रणसँगै विद्युत् संरचनाको संरक्षणमा पनि विशेष ध्यान दिन डिभिजन प्रमुखहरूलाई निर्देशन दिए। पोल पुनर्निर्माणमा मात्र सीमित नभई नियमित मर्मतसम्भार र गस्तीलाई समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
डिभिजन कार्यालय प्रमुखहरूले निर्णय गर्ने क्रममा सुशासन र शासकीय सुधारलाई मूल आधार बनाएर जिम्मेवारी पूरा गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिए।










Discussion about this post