काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनका कार्य निरन्तर भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गर्दै विपद् व्यवस्थापनमा निरन्तर सक्रिय रहेको बताएका हुन्।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्का कारण उत्पन्न समस्या समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए।
उनले भने, “उपलब्ध स्रोत–साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्दैछौँ। त्यसैले यस विषयमा ढुक्क हुन आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक व्यवस्थापनका काम अघि बढाइएको जानकारी दिए।
विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने तयारी गरिरहेको उनले बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक तयारी र व्यवस्थापनका काम भइरहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यानसमेत जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सबैप्रति आभार व्यक्त गरे।










Discussion about this post