काठमाडौँ । नेपाली कांग्रेसको राजनीतिमा चार दशकभन्दा लामो समयदेखि सक्रिय सीतादेवी पौडेलले पार्टीको केन्द्रीय सदस्य, महिला (खस आर्य) तर्फ उम्मेदवारी दिएकी छन्।
पौडेलको राजनीतिक यात्रा २०३८ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट अघि बढेकी उनले नेपाल महिला संघ, नेपाली कांग्रेसका स्थानीय संगठन तथा नेपाल किसान संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी राजनीतिमा निरन्तर सक्रियता जनाउँदै आएकी छन्।
२०४७ सालमा नेपाल महिला संघको गाउँ सभापति तथा कांग्रेस गाउँ एकाइ सदस्यको जिम्मेवारी सम्हालेकी पौडेल सोही वर्ष नेपाल महिला संघ ताप्लेजुङ जिल्ला उपसभापति बनेकी थिइन्। त्यसपछि २०५० सालदेखि जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्दै उनले तीन कार्यकाल संगठनको नेतृत्व गरेकी थिइन्।
कांग्रेसको १०औँदेखि १५औँ महाधिवेशनसम्म निरन्तर महाधिवेशन प्रतिनिधि रहेकी पौडेल १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्यसमेत रहिन्। त्यस्तै, २०५९ सालदेखि नेपाल किसान संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै उनले दुई कार्यकाल काम गरिसकेकी छन्।
पौडेलले २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय सहभागिता जनाएकी थिइन्। उनको राजनीतिक विवरणअनुसार आन्दोलनका क्रममा उनी ३५ पटकभन्दा बढी पक्राउ परेकी र पटक–पटक घाइते भएकी थिइन्।
२०७४ सालमा झापा क्षेत्र नं. २ (प्रदेश ‘क’) बाट कांग्रेसको समानुपातिक उम्मेदवारसमेत बनेकी पौडेलले आफ्नो लामो राजनीतिक अनुभव, संगठनात्मक सक्रियता र महिला नेतृत्वलाई आधार बनाउँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा स्थानीय संगठन हुँदै जिल्ला, महासमिति र केन्द्रीय तहसम्म पुगेको छ। पौडेलले अनुभव, संघर्ष, संगठन र नेतृत्वलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरेकी छन्।











Discussion about this post