काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या व्यक्ति वा नेतृत्वमा मात्रै सीमित नभई संविधान र विद्यमान राजनीतिक व्यवस्थासँग पनि जोडिएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देश अझै राजनीतिक अस्थिरता र अन्योलको अवस्थामा रहेको बताए। उनले राजनीतिक दलहरूले मुलुकको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।
लिङ्देनले संविधानलाई अपरिवर्तनीय दस्तावेजका रूपमा लिन नहुने धारणा राखे। ‘संविधान बाइबल होइन, गीता होइन। व्यवस्थामा नमिलेका विषयलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने।
उनले विगतमा सरकार वा राजनीतिक नेतृत्वको विरोध गर्दा दमन हुने गरेको उल्लेख गर्दै अहिले गलत कामको आलोचना सामाजिक सञ्जालमार्फत हुने गरेको बताए।
लिङ्देनले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले जनतामा राजनीति र नेताप्रतिको वितृष्णा घटाउन नसकेको दाबी गरे। उनका अनुसार देशलाई निकास दिन सबै राजनीतिक शक्तिबीच सहमति र सहकार्य आवश्यक छ।
‘कसैले नहार्ने र सिंगो देशले जित्ने राष्ट्रिय सहमति गर्नुपर्छ। सबैलाई एक ठाउँमा राखेर देशलाई निकास दिनुपर्छ,’ उनले भने।










Discussion about this post