काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगन थापाले संस्थापक तथा अग्रज नेताहरूको तस्वीरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
समारोहमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायतका नेताहरूको सहभागिता रहेको छ।
महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो संख्यामा प्रतिनिधि सहभागी भएको बताइएको छ।
उद्घाटन सत्रसँगै बन्दसत्रका कार्यक्रम पनि खुलामञ्चमै सञ्चालन हुने कांग्रेसले जनाएको छ।










Discussion about this post