इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
मेलामा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत आयोजना गरिनेछ।
मन्त्रालयका अनुसार मेलाको प्रमुख उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो। यसका लागि सहभागी युवाको सीप प्रोफाइलिङ, रोजगार मिलान तथा आवश्यक सूचना र परामर्श प्रदान गरिनेछ।
आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म तालिममा सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगारका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म विभिन्न १० वटा विषयगत ट्रेडमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन्। बजारको मागअनुसार आवश्यक सीप प्रदान गरी युवालाई रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
मेलामा विभिन्न प्रदर्शनी स्टलका साथै सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफल सञ्चालन हुनेछन्। आयोजकले मेलामार्फत युवालाई सीप, रोजगारी र उद्यमशीलताका अवसरबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउने जनाएको छ।










Discussion about this post