काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधार तथा पुनर्संरचनाका लागि प्रक्रिया अघि बढाउने भएको छ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेप्से पुनर्संरचनासम्बन्धी प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयबाट बोर्डलाई पत्र प्राप्त भएको जानकारी दिए।
प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयबाट पत्र प्राप्त भएको बताउँदै अध्यक्ष भट्टले आगामी सातादेखि नेप्सेको सञ्चालक समितिसँग छलफल गरी बोर्डको तर्फबाट पुनर्संरचनाको प्रक्रिया अगाडि बढाइने बताए।
उनका अनुसार दोस्रो बजार सुधारको प्रमुख आधार नै नेप्सेको सुधार हो। विगतमा नेप्सेलाई पर्याप्त नियामकीय निर्देशन नदिइएको अवस्था रहे पनि अब ट्रेडिङ मेकानिजम, अर्डर म्यानेजमेन्ट, साइबर सुरक्षा र सूचना प्रविधि नीतिलगायतका क्षेत्रमा नियमनलाई थप व्यवस्थित गरिनेछ।
बोर्डले ती क्षेत्रमा करिब ३१–३२ वटा नियामकीय व्यवस्था तयार गरिसकेको र आवश्यकताअनुसार क्रमशः कार्यान्वयनमा ल्याइने अध्यक्ष भट्टले जानकारी दिए।
यसैगरी मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशनअनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई पोस्ट–ट्रेडसम्बन्धी कार्यमा थप प्रभावकारी बनाउने तथा यसको सूचना प्रविधि प्रणालीलाई समेत स्तरोन्नति गर्ने तयारी भइरहेको उनले बताए।
अध्यक्ष भट्टले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अब पूँजी बजारमा आईपीओ स्वीकृतिदेखि अन्य नियामकीय प्रक्रियासम्म ‘जोखिममा आधारित सुपरीवेक्षण तथा नियमन’ प्रणाली लागू गर्दै लैजाने धारणा पनि व्यक्त गरे।
बोर्डले नेप्सेको पुनर्संरचनासँगै दोस्रो बजारको कारोबार प्रणाली, प्रविधि, साइबर सुरक्षा र नियामकीय संरचनालाई थप प्रभावकारी बनाउने तयारी अघि बढाएको जनाएको छ।










Discussion about this post