मनाङ । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीका कारण नासोँ गाउँपालिका–१ स्थित तालगाउँ डुबानमा परेको छ। बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दा छिमेकीको घर तथा स्वास्थ्य चौकीमा आश्रय लिन बाध्य भएका छन्।
नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार लगातारको वर्षासँगै मर्स्याङ्दी नदीको जलसतह बढेपछि गाउँमा बाढी पसेको हो। तालगाउँमा ६४ घरधुरी रहेका छन्।
बाढी र पहिरोका कारण विद्युत्का पोलमा समेत क्षति पुगेपछि विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ। यसअघि २०७८ सालमा पनि मर्स्याङ्दीमा आएको बाढीले तालगाउँमा ठूलो क्षति पुर्याएको थियो।
यस्तै, बाढीले नासोँ–७ र ८ जोड्ने मर्स्याङ्दी नदीमाथिको झोलुङ्गे पुल बगाएपछि आवतजावत बन्द भएको छ। चामे गाउँपालिका–४ का तीन घरमा समेत घट्टेखोलाको बाढीले क्षति पुर्याएको छ।
मर्स्याङ्दी नदी र घट्टेखोलामा पानीको बहाव बढेसँगै सदरमुकाम चामे, तालगाउँलगायत क्षेत्रमा बाढीको जोखिम बढेको छ।










Discussion about this post