बैतडी — नेपाली कांग्रेस बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरेको छ। सबै पालिकामा सभापतिसहित पदाधिकारी तथा अन्य नेतृत्व निर्विरोध चयन भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।
चार स्थानीय तहको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो। अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ।
कांग्रेसका अनुसार वडा अधिवेशनमा समेत समावेशी सहभागिता देखिएको छ। जिल्लाका ८४ वडामध्ये पाँच वडामा दलित समुदायबाट सभापति चयन भएका छन् भने दुई वडामा महिला सभापति निर्विरोध निर्वाचित भएका छन्।
पालिकागत रूपमा दशरथचन्द नगरपालिकाको सभापतिमा रणबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन भएका छन्।
त्यस्तै, दोगडाकेदार गाउँपालिकामा डम्बरसिंह कार्की, शिवनाथ गाउँपालिकामा महामलसिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द, सिगास गाउँपालिकामा दीपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी सभापतिमा निर्विरोध चयन भएका छन्।
कांग्रेस बैतडीका अनुसार पालिका अधिवेशनबाट सभापतिसहित सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ।










Discussion about this post