काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक तय भएका छन्।
अर्थसमितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ। साथै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा नेपालमा स्वदेशी तथा वैदेशिक, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर, लगानीको वातावरणमा परेको प्रभाव तथा राष्ट्रिय र प्रादेशिकस्तरमा आयोजना हुने लगानी सम्मेलनको व्यवस्थापनबारे छलफल हुनेछ। साथै, उपयुक्त लगानी वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा समेत छलफल गरिनेछ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदा सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।










Discussion about this post