कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीस्थित महाकाली मोडर्न पब्लिक स्कुलको आयोजनामा महाकाली मोडर्न प्रिमियर लिग (एमएमपीएल) को तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले अध्यक्षता गरेका थिए भने विद्यालयका संस्थापक सदस्य हर्कबहादुर धामी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संविधान दिवसको अवसरमा दीप प्रज्वलनसमेत गरिएको थियो।

एमएमपिएलको तेस्रो संस्करणमा विद्यालयका विद्यार्थीहरूबाट गठित सोसियल हिरोज, कम्प्युटर वारियर्स, साइन्टिफिक इन्भेष्टर, म्याथम्याटिक्स ब्लास्टर, हेल्थ सुपर जायन्ट्स र अप्सनल म्याथ सुपर स्टार गरी ६ वटा टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताका लागि खेलाडी छनोट तथा खरिद प्रक्रिया अर्थात् प्लेयर अक्शन कार्यक्रम भदौ १६ गते सम्पन्न भएको थियो। अक्शनमार्फत ६ वटै टोलीले खेलाडी छनोट गरेपछि शनिबारदेखि प्रतियोगिताको तेस्रो संस्करण औपचारिक रूपमा सुरु गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा तथा खेलकुदसम्बन्धी सीपलाई उजागर गर्ने उद्देश्यले एमएमपिएल आयोजना गरिएको बताए।

उनले विगत तीन वर्षदेखि आयोजना हुँदै आएको यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत भविष्य निर्माण गर्न समेत प्रेरित गरिरहेको बताए।
“विद्यार्थीको सर्वाङ्गीण विकाससँगै उनीहरूमा रहेको खेल प्रतिभालाई अगाडि ल्याउन एमएमपिएल महत्वपूर्ण माध्यम बनेको छ,” भट्टले भने, “खेलकुदबाट पनि पहिचान, नाम र दाम कमाउन सकिन्छ भन्ने वातावरण निर्माण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।”
उनका अनुसार विद्यालयस्तरमै खेलकुदको वातावरण निर्माण गर्दा विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना तथा सामूहिक कार्य गर्ने क्षमताको विकास गर्न सहयोग पुग्नेछ।
त्यस्तै, विद्यालयका संस्थापक सदस्य हर्कबहादुर धामीले क्रिकेट क्षेत्रमा विद्यार्थीका लागि विभिन्न अवसर रहेको बताउँदै प्रतियोगिताले उनीहरूलाई खेलकुदमार्फत आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्ने बताए।

विद्यालयले विद्यार्थीको रुचि र प्रतिभालाई ध्यानमा राख्दै एमएमपिएललाई निरन्तरता दिँदै आएको उनको भनाइ छ। खेलकुदलाई शिक्षासँग जोडेर अघि बढाउँदा विद्यार्थीको प्रतिभा पहिचान गर्न सहज हुने उनले बताए।
एमएमपिएलमार्फत विद्यालयका विद्यार्थीले प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव लिनुका साथै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा सुदूरखबर वानका सञ्चालक तथा कला–संस्कृतिप्रेमी प्रकाश कलौनीको समेत उपस्थिति रहेको थियो।
विद्यालयले एमएमपिएललाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै विद्यार्थीको खेल प्रतिभालाई थप प्रोत्साहन गर्ने जनाएको छ।











Discussion about this post