काठमाडौं । निर्वाचनमा पराजयपछि नेकपा एमालेभित्र सुरु भएको पार्टी पुनर्गठनको बहस दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एउटै दस्तावेजमा समेट्ने प्रयासमा पुगेको छ। संगठन सुधारसँगै नेतृत्व व्यवस्थापनको विषयले बहसलाई थप पेचिलो बनाएको छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि एमालेभित्र नेतृत्वको निरन्तरता, उमेरहद, कार्यकाल र नेतृत्व हस्तान्तरणबारे फरक धारणा देखिएको हो।
सोमबार काभ्रेको बल्थलीमा बसेको कार्यदल बैठकले दुवै प्रतिवेदनमा सहमति जुटाउन सकेन। बैठकले संयोजक बादल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल सम्मिलित तीन सदस्यीय समितिलाई साझा प्रतिवेदनको अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी दिएको छ।
एमाले सचिव डा. राजन भट्टराईका अनुसार निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन शुद्धीकरण तथा सुदृढीकरण र पार्टी पंक्तिलाई एकताबद्ध बनाउने विषय समेटेर प्रतिवेदन तयार गरिनेछ।
नेतृत्व व्यवस्थापनमा फरक धारणा
महासचिव पोखरेलको प्रतिवेदनमा संगठन र नेतृत्व निर्माण प्रणालीमा सुधार गर्दै ७० वर्षे उमेरहद तथा एउटै पदमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। नयाँ पुस्तालाई नेतृत्वमा आउने बाटो सहज बनाउनुपर्ने धारणा पनि प्रतिवेदनमा उल्लेख छ।
तर, बादलको प्रतिवेदनले तत्काल नेतृत्व परिवर्तनको बहस उपयुक्त नभएको तर्क गरेको छ। ओली नेतृत्वको निरन्तरता र पार्टी एकतालाई प्राथमिकता दिँदै ७० वर्षे उमेरहद तथा दुई कार्यकालको व्यवस्था हटाउने निर्णयको बचाउ गरिएको छ।
दुवै प्रतिवेदनमा संगठन सुधार, निर्वाचन समीक्षा र कमजोरी सच्याउने विषय समान रहे पनि नेतृत्व हस्तान्तरण, संगठनात्मक संरचना, कमिटी पुनर्गठन तथा अधिवेशन र परिषद् बैठक बोलाउने समयबारे मतभिन्नता देखिएको छ।
साझा प्रतिवेदन तयार गरिँदै
अब एमालेभित्र मुख्य प्रश्न दुई प्रतिवेदनमध्ये कुन सही भन्नेभन्दा पनि दुवैबाट सहमति जुट्ने विषय समेटेर साझा प्रतिवेदन बनाउनेतर्फ केन्द्रित भएको छ।
तीन सदस्यीय समितिले तयार गर्ने एकीकृत प्रतिवेदनलाई पार्टी सचिवालय हुँदै केन्द्रीय कमिटीमा लैजाने तयारी छ। दुवै प्रतिवेदनलाई छुट्टाछुट्टै रूपमा केन्द्रीय कमिटीमा पेस नगर्ने बताइएको छ।
यससँगै एमालेको पुनर्गठन बहस संगठन सुधारमा मात्रै सीमित नभई नेतृत्वको निरन्तरता, पुस्तान्तरण र पार्टीको भावी नेतृत्व निर्माणको प्रक्रियासँग समेत जोडिएको छ।









Discussion about this post