काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीलाई खुशी दिन सकेकोमा आफूलाई गर्व लागेको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका लामिछानेले टोलीको सफलतामा खेलाडीका साथै समर्थक, प्रशिक्षक र पर्दापछाडि रहेर योगदान गर्ने सबैको भूमिका रहेको बताए।
शनिबार यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एसिया कपमा स्थान बनाएको थियो। यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एसिया कपमा छनोट भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताए। उनले भने, ‘देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ।’
ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भए पनि टोलीले आत्मविश्वास नगुमाएको उनले बताए। ओमानलाई ६० रनमै समेट्दै नेपालले सेमिफाइनल जितेको थियो।
फाइनलमा ३१३ रन बनाएर यूएईलाई ४४ रनले पराजित गरेको नेपालले उपाधि जितेको थियो। फाइनलमा टस जितेर ब्याटिङ रोज्ने निर्णय सही भएको बताउँदै लामिछानेले आसिफ शेखको शतकसहित ब्याटिङ र बलिङ दुवैतर्फ टोलीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे।
कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै ‘म्यान अफ द टूर्नामेन्ट’ बनेका लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण रहेको बताए। उनले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान महत्वपूर्ण रहेको बताए।
लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताका ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गरे।
प्रिमियर कपको उपाधिपछि केही दिन आराम गरेर एसियन गेम्स र त्यसपछि एसिया कपको तयारीमा जुट्ने उनले जानकारी दिए।










Discussion about this post