काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूलाई केन्द्रीय सदस्यको हैसियत दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले उनीहरूलाई केन्द्रीय समितिमा समायोजन गर्ने बाटो खुलाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमितिमा समायोजन गर्नुपर्ने माग गर्दै आएको थियो ।
बैठकले वडा तहको अधिवेशन असोज ३ र ४ गते गर्ने तथा १५औँ महाधिवेशनको उद्घाटन र बन्द सत्र काठमाडौंको खुलामञ्चमा गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने मिति तय गरेको छ ।
महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता चालिसेले बताउनुभयो । यसअघि पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर प्राविधिक कारणले अद्यावधिक हुन नसकेकालाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय कांग्रेसले गरिसकेको छ ।










Discussion about this post