काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई राजनीतिक संस्कार र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलनले सुशासन, विधिको शासन र सरकारको कार्यशैलीमा सुधारको माग गरेको बताए।
‘जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई संस्कार परिवर्तनका लागि थियो। सरकारको शैली परिवर्तन गर्न, सुशासन कायम गर्न तथा विधिविहीन र दण्डविहीनताको अन्त्य गर्नका लागि थियो,’ उनले भने।
सांसद केसीले अहिले देशका विभिन्न क्षेत्रमा समस्या र अभाव देखिएको भन्दै सबै राजनीतिक दल र पक्ष एक ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
‘अहिले चारैतिर हाहाकार छ। मलको हाहाकार छ, ग्यासको हाहाकार छ,’ उनले भने, ‘तर यी सम्पूर्ण हाहाकारबीच प्राकृतिक विपत्तिले हामी सबैलाई एकाकार बनाएको छ। फेरि पनि एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्छ।’
केसीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले बाढी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत तथा उद्धारका काम अघि बढाउन सरकारसँग आग्रह गरे।
त्यस्तै, नुवाकोटमा यातायात तथा सञ्चारलगायतका कनेक्टिभिटी सहज बनाउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।










Discussion about this post