काठमाडौं । भारतले नेपालका बाढी प्रभावित नागरिकका लागि थप २१.५ टन मानवीय सहायता सामग्री पठाएको छ। भारतीय वायुसेनाका दुईवटा विमानमार्फत ल्याइएको उक्त राहत सामग्री बिहीबार राति काठमाडौं आइपुगेको हो।
गत बुधबार चीनको तिब्बत क्षेत्रमा आएको भीषण बाढीपछि रसुवास्थित भोटेकोशी नदी आसपासमा ठूलो क्षति पुगेको थियो। बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भारतले थप मानवीय सहायता पठाएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका प्रतिनिधि तथा राजदूतले उक्त राहत सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
भारतबाट प्राप्त राहत सामग्रीमा मेडिकल तथा उद्धार कार्यमा आवश्यक सामग्री रहेको जनाइएको छ। ती सामग्रीलाई प्रभावित क्षेत्रमा तत्काल पठाएर राहत तथा उद्धार कार्यमा प्रयोग गरिने बताइएको छ।
यससँगै भारतले नेपालमा बाढी तथा विपद् प्रभावितका लागि सातवटा उडानमार्फत राहत सामग्री तथा विशेषज्ञसहितको उद्धार टोली पठाइसकेको जनाएको छ।
भोटेकोशी बाढीपछि नेपालमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग प्राप्त भइरहेको छ।










Discussion about this post