महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्द र अध्यक्ष नारा जोशीले संयुक्त रूपमा जारी गरेको अपिलमार्फत बाढी प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको हो।
गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै सहकारीले दुःख व्यक्त गरेको छ।
सहकारीले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
‘विपद् कसैको एक्लो समस्या होइन, यो हामी सबैको साझा जिम्मेवारी हो’ भन्ने भावनाका साथ प्रभावित नागरिकको तत्कालीन आवश्यकता र कठिनाइलाई ध्यानमा राखेर सहयोग घोषणा गरिएको संस्थाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशलाई कार्यक्षेत्र बनाएर वित्तीय तथा सहकारी सेवा प्रदान गर्दै आएको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।
सहकारीले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











Discussion about this post