काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीनले ५० टन आपत्कालीन राहत सामग्री नेपाल पठाएको छ। राहत सामग्रीसँगै चीनले सुरुङ तथा जटिल संरचनामा उद्धार गर्न दक्ष चार जना विशेषज्ञ टोलीसमेत नेपाल पठाएको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार ती विमानमार्फत करिब ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो। सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचार किटलगायतका अत्यावश्यक सामग्री रहेका छन्।
चीनले राहत सामग्रीसँगै उद्धार कार्यमा प्रयोग हुने उपकरण र चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल पठाएको छ। विशेषगरी बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य जोखिमपूर्ण संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा उनीहरूको विशेषज्ञता उपयोगी हुने अपेक्षा गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो। सो अवसरमा नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञलाई समेत स्वागत गरिएको थियो।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।
नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि विपद् प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले यो आपत्कालीन सहायता उपलब्ध गराएको हो।
चीनबाट प्राप्त राहत सामग्रीले प्रभावित परिवारलाई तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, विशेषज्ञ टोली र उद्धार उपकरणको प्रयोगबाट कठिन तथा जोखिमपूर्ण संरचनामा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।










Discussion about this post