काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनजीवन प्रभावित भएपछि हिन्दू स्वयंसेवक संघ नेपालले उद्धार, सेवा तथा राहत कार्यमा जुट्न स्वयंसेवक तथा कार्यकर्ताहरूलाई आह्वान गरेको छ।
संघले अपिल जारी गर्दै प्रभावित क्षेत्रमा तत्काल परिचालित भई उद्धार तथा राहत कार्यमा सक्रिय हुन आग्रह गरेको हो। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी जोखिममा रहेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण तथा आवश्यक सहयोगमा सक्रिय भूमिका निर्वाह गर्न संघले अनुरोध गरेको जनाएको छ।
संघका अनुसार स्वयंसेवकहरूको एक टोली नुवाकोट पुगिसकेको छ। टोलीले स्थानीय अवस्थाबारे जानकारी लिँदै सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, सेवा तथा राहतका कार्य अघि बढाइरहेको छ।
विपद्को समयमा स्वयंसेवकहरूको सानो प्रयासले पनि संकटमा परेका नागरिकको जीवन रक्षा, पीडित परिवारलाई राहत तथा प्रभावित समुदायमा आशा जगाउन महत्वपूर्ण योगदान पुर्याउन सक्ने संघले जनाएको छ।
यसैबीच, बाढी प्रभावित जिल्लाका सबै स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको अवस्थामा राज्यका निकायसँग सहकार्य गर्दै मानवीय सेवामा जुट्न संघले सम्पूर्ण स्वयंसेवक तथा कार्यकर्तालाई आग्रह गरेको छ।
“विपद्को यस घडीमा—उद्धार, सेवा र सहयोगका लागि एकजुट बनौँ” भन्ने भावका साथ प्रभावित नागरिकको सहयोगमा आफ्नो सेवा कार्यलाई प्राथमिकताका साथ अघि बढाउने संघले जनाएको छ।










Discussion about this post