काठमाडौं । रसुवाका सांसद एवं नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवामा आएको बाढीले गतवर्षको तुलनामा ठूलो र विनाशकारी क्षति गरेको बताएका छन् ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै आचार्यले बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको बताए ।
सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि हवाई माध्यम प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताए । प्रभावित नागरिकलाई जतिसक्दो छिटो हेलिकप्टरमार्फत उद्धार गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।
प्रभावित क्षेत्रमा नागरिक त्रसित रहेको र धेरै परिवार आफ्ना आफन्तसँग सम्पर्कविहीन भएपछि चिन्तित बनेको आचार्यले बताए ।
‘अहिले एकदमै त्यहाँका आम नागरिकहरू त्रसित छन् । सोचेको भन्दा, अनुमान गरेको भन्दा पनि धेरै ठूलो क्षति भएको छ । धेरै परिवारका साथीहरू सम्पर्कमा नआएर परिवारजनहरू आत्तिनुभएको छ,’ आचार्यले भने ।
टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले प्रभावित क्षेत्रमा सडकमार्गबाट पुग्न कठिन रहेको भन्दै उनले हवाई माध्यमबाट उद्धारमा जुट्नुपर्ने बताए ।
‘अब त्यहाँ टेलिफोन कनेक्सन पनि छैन । त्यो भूगोलमा जानलाई बाइ रोडको बाटो नभएर अब बाइ एयरबाट गएर रेस्क्यू गर्न सकिन्छ, कति सहयोग गर्न सकिन्छ त्यसमा लागौँ,’ उनले भने ।
आचार्यका अनुसार तिब्बती क्षेत्रमा हिमताल विस्फोट भएपछि बाढी आएको हो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको उनले जानकारी दिए ।
टेलिफोन सम्पर्क विच्छेद भएकाले बाढीबाट भएको क्षतिको विवरण संकलनमा समेत कठिनाइ भइरहेको उनले बताए ।
आचार्यले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।










Discussion about this post