पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले यस खण्डमा गरिएको कङ्क्रिट (ढलान) कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ ।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा गुणस्तरीय कङ्क्रिट ढलान गरिएको हो । भार नियन्त्रण र डिजाइनअनुसारका मापदण्ड पालना भए सडक ४० वर्षसम्म टिक्न सक्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टनसम्म रहने गरी निर्माण गरिएको छ । आगामी २० देखि ३० वर्षको सवारी चापलाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारी साधन सञ्चालन हुँदा पनि सडकमा क्षति नपुग्ने गरी निर्माण गरिएको दाबी गरिएको छ ।
हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
बारम्बार बिग्रने कालोपत्रेको विकल्पका रूपमा ढलान प्रविधि अपनाइएकाले दाउन्नेमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ।










Discussion about this post