सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण अभियान सम्पन्न भएको छ । यस अवधिमा हिमाल आरोहण अनुमति शुल्कबाट सरकारले एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। अनुमति लिने आरोहीमध्ये चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७० तथा नेपालका ४४ जना रहेका छन्।
नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहण गर्नेमा चीनका १०९ जना सबैभन्दा बढी रहेका छन्। त्यसपछि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८ तथा अस्ट्रेलियाका १५ आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।
यस वर्ष कामिरीता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ। त्यसैगरी महिला आरोहीतर्फ सङ्खुवासभाकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी आफ्नो कीर्तिमानलाई थप उचाइ दिनुभएको छ।
राजश्व सङ्कलनतर्फ सगरमाथाबाट मात्रै एक अर्ब आठ करोड १० लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ। लोत्से, मकालु, आमादब्लम, कञ्चनजङ्घा र अन्नपूर्ण हिमालबाट समेत उल्लेख्य राजश्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ।
वसन्तकालीन आरोहण सिजनमा विदेशी तथा स्वदेशी आरोहीको उत्साहजनक सहभागिताले नेपालको पर्वतीय पर्यटन क्षेत्र थप सशक्त बन्दै गएको देखिएको छ।







Discussion about this post