कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा नगर भित्रका युवाहरूलाई प्रविधिसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यका साथ डिजिटल मार्केटिङ तालिम सुरु भएको छ। बिहीबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।
नगरपालिकाद्वारा आयोजित उक्त तालिम ‘साक डिजिटल युनिभर्सिटी प्रालि’ को प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको छ। तालिममा नगर भित्रका ४० जना युवाहरूको सहभागिता रहेको छ।

तालिमको प्राविधिक पक्षबारे जानकारी दिँदै साक डिजिटल युनिभर्सिटी प्रालिका प्रबन्ध निर्देशक गणेश दत्त जोशीले २० दिनको अवधिमा सहभागीहरूलाई डिजिटल बजारका विभिन्न आयामबारे सिकाइने बताउनुभयो। उहाँका अनुसार तालिममा विशेष गरी फेसबुक मार्केटिङ, युट्युब अप्टिमाइजेसन र ग्राफिक डिजाइन लगायतका आधारभूत तथा व्यावसायिक विषयहरूमा सघन प्रशिक्षण दिइनेछ। तालिमपछि सहभागीहरूले डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गरी आफ्ना उत्पादन वा सीपलाई बजारसम्म पुर्याउन सक्षम निर्देशक जोशीले बताउनुभयो।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख भोजराज बोहराले अहिलेको सूचना र प्रविधिको युगमा युवाहरू डिजिटल रूपमा दक्ष हुनु अनिवार्य रहेको बताउनुभयो। युवाहरू प्रविधिसँग जोडिए मात्रै आधुनिक बजारमा प्रतिस्पर्धा गर्न र सक्षम बन्न सक्ने उल्लेख गर्दै उहाँले नगरवासीलाई आत्मनिर्भर बनाउन वडा र नगर स्तरबाट यस्ता सीपमूलक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो।
नगर प्रमुख बोहराले परम्परागत रोजगारीका अवसरहरू सीमित हुँदै गएको अवस्थामा डिजिटल मार्केटिङले युवाहरूलाई घरमै बसेर विश्वव्यापी बजारसँग जोडिने ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यावसायिक प्रयोगमा ल्याएर स्वरोजगार बन्न सहभागी युवाहरूलाई आग्रह समेत गर्नुभयो।

२० दिनसम्म चल्ने यस तालिममा सहभागीहरूलाई अनलाइन माध्यमबाट व्यवसाय विस्तार गर्ने र स्वरोजगार बन्ने प्रयोगात्मक विधिहरू सिकाइने आयोजकले जनाएको छ।











Discussion about this post