महेन्द्रनगर — महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दै नवनियुक्त अध्यक्ष महेश प्रसाद पन्तले अस्पतालको सेवा सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुसार नियुक्त भएका पन्तले पदभार ग्रहणसँगै सुधारमुखी केही महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्।
अध्यक्ष पन्तले अस्पताल परिसरमा सुझाव पेटिका राख्ने, सरसफाइ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तथा एटीएम सेवा २४सै घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेका छन्। सुझाव पेटिकामार्फत सेवाग्राहीका गुनासा र सुझाव संकलन गरिने व्यवस्था मिलाइने जनाइएको छ।

उनले प्रादेशिक अस्पतालमा स्तरोन्नति भए पनि शैया संख्या र जनशक्ति विस्तार हुन नसकेको उल्लेख गर्दै यसलाई पहिलो प्राथमिकतामा राखिने बताए। “अब शैया विस्तार र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिन्छौँ,” उनले भने।
अध्यक्ष पन्तले आफू विगतमा घाइते हुँदा यही अस्पतालमा उपचार पाएको स्मरण गर्दै संस्थाप्रति आफ्नो नजिकको अनुभव रहेको बताए। अस्पतालको समग्र विकासका लागि सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने उनको भनाइ छ।
स्वास्थ्य सेवा उपचारमा मात्र सीमित नराखी रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। साथै आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहुने व्यवस्था मिलाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
अस्पतालका चिकित्सक तथा कर्मचारीलाई निष्पक्ष र सेवाभावका साथ काम गर्न निर्देशन दिँदै उनले अस्पताललाई राजनीतिक प्रभावबाट टाढा राख्ने स्पष्ट पारे।

कार्यक्रममा मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीले अस्पतालको वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
प्रदेश सरकारले व्यवस्थापन समितिमा प्रशान्त भट्ट, इन्द्र साउद, कमली चन्द, कृष्ण कुवँर र पार्वती कुमारी भट्टलाई सदस्यमा नियुक्त गरेको छ। अघिल्लो समितिको कार्यकाल सकिएपछि लामो समयसम्म समिति रिक्त रहेको थियो।
पदभार ग्रहण कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समितिलाई जनताको सेवामा समर्पित भएर काम गर्न आग्रह गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए।

उक्त अस्पताल २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई २०३१ सालमा जिल्ला अस्पताल, २०४३ सालमा अञ्चल अस्पताल हुँदै २०७८ सालमा प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको हो। हाल १०० शैयाको स्वीकृति रहेको अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ।










Discussion about this post