महेन्द्रनगर । महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा १० (एसईई) का विद्यार्थीहरूको सम्मानमा ‘फेरी भेटौला’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कक्षा १० मा अध्ययनरत ४३ जना विद्यार्थीहरूलाई अविर, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक विदाइ गरिएको थियो। कार्यक्रमको सभाध्यक्ष कक्षा ९ की छात्रा रोजी सावद रहेकी थिइन् भने प्रमुख अतिथिको रूपमा संस्थापक प्रिन्सिपल दिजराज भट्ट तथा विशिष्ट अतिथिको रूपमा संस्थापक अध्यक्ष हर्कबहादुर धामीको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। सो अवसरमा बोल्दै प्रिन्सिपल भट्टले आगामी एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गर्न विद्यार्थीहरूलाई शुभकामना दिँदै अनुशासन, मेहनत र आत्मविश्वासलाई सफलता प्राप्त गर्ने मुख्य आधार भएको बताए। उनले जीवनमा शिक्षासँगै नैतिकता र व्यवहारिक ज्ञानको पनि महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे।
सभाध्यक्ष सावदले विद्यार्थीहरूलाई अभिभावकको सपना साकार पार्न कडा मेहनत गर्दै उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन प्रेरित गरिन्।
विदाइ कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत एसईई दिन लागेका विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए भने कक्षा १० का विद्यार्थीहरूले विद्यालयसँग बिताएका स्मरणीय क्षणहरू साझा गर्दै शिक्षक तथा विद्यालयप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।











Discussion about this post