कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत कोषाध्यक्ष पदका लागि युवा व्यवसायी प्रदीप पालले आज आफ्नो उम्मेदवारी दर्ता गराउने भएका छन्। संघमा यसअघि सदस्यको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएका पालले यसपटक पदाधिकारीमा रहेर व्यवसायीहरूको हक-हितमा काम गर्ने संकल्पसहित उम्मेदवारी दिन लाग्नुभएको हो।
२०७९ सालमा सम्पन्न १७ औँ कार्यकारिणी समितिको निर्वाचनमा निर्विरोध सदस्य निर्वाचित हुनुभएका पाल एक अनुभवी र जुझारु व्यवसायीका रूपमा चिनिनुहुन्छ। २०७० सालदेखि ‘प्रदीप ट्रेडर्स एण्ड सप्लायर्स’ मार्फत निजी व्यवसायमा सक्रिय उहाँले परम्परागत व्यवसायलाई आधुनिक ढंगले अगाडि बढाउँदै आउनुभएको छ। उहाँले केही वर्षअघि डोटीको विपीनगर क्षेत्रमा उत्पादित अदुवालाई भारतीय बजारसम्म पुर्याएर स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा समेत उल्लेख्य योगदान पुर्याउनुभएको थियो।
आज उम्मेदवारी दर्ता गर्ने तयारीमा रहनुभएका पालले आफ्नो मुख्य प्राथमिकता संघको कोषलाई सुदृढ र पारदर्शी बनाउनु रहेको बताउनुभएको छ। उहाँले व्यवसायीहरूको हक–हित संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै कोषलाई बलियो बनाएर संकटमा परेका व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा राहतका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सार्नुभएको छ।
संघभित्र साना व्यवसायीहरूको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने र जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रको दीर्घकालीन विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने अठोट पालले व्यक्त गर्नुभएको छ। उहाँको उम्मेदवारीलाई व्यवसायीहरू माझ उत्साहका साथ हेरिएको छ।









Discussion about this post