काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि, चुहावट नियन्त्रण र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन्।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलनमा भएको प्रगति र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक रहेको बताए।
उनले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र नियमित विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।
मन्त्री श्रेष्ठले विद्युत् चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए।
प्राधिकरणका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा ५ लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराइँदै आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल संकलन भएको छ।
प्रदेशमा १३ वटा वितरण केन्द्र, ४ हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ।
प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशमा विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। बाढीपहिरोले ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुर्याएको छ।
क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी सुधारका योजनाबारे जानकारी गराएका थिए।










Discussion about this post