काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग ७ विकेटले पराजित भएको छ। बुधबार भएको पहिलो खेलमा सुदूरपश्चिमलाई हराउँदै बागमतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको थियो।
सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य बागमतीले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। बागमतीको जितमा ओपनर हेलिशा गुरुङले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा ६ चौका प्रहार गरिन्।
त्यस्तै, कञ्चन श्रेष्ठले १३, विपिशा शाहीले १० र लक्ष्मीमाया रुम्बा लामाले २० रनको योगदान दिइन्। सबिका कुमारी यादव ३ रनमा अविजित रहिन्।
सुदूरपश्चिमका लागि बलिङतर्फ स्नेहा महरा र अनु कडायतले समान १–१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि मनिषा बोहोराले सर्वाधिक ३० रन बनाइन्। स्नेहा महराले २२, कप्तान ऋतु कनौजियाले १५ रन बनाउँदा अनु कडायत २३ रनमा अविजित रहिन्।
बागमतीका लागि बलिङतर्फ अश्मिना कर्मचार्यले सर्वाधिक ३ विकेट लिइन्। संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले समान १–१ विकेट हात पारे।
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।










Discussion about this post