भारत । नेपाली साहित्यकार हेमबाबु लेखक भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३०औँ वार्षिक स्रष्टा सम्मान समारोहमा अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित भएका छन्।
पञ्जाब कला साहित्य अकादमीले साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लेखकलाई उक्त अवार्ड प्रदान गरेको हो। जालन्धरस्थित लायन्स क्लबमा आयोजित समारोहमा भारतका विभिन्न प्रान्तका साहित्यकार, कलाकार तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन्। उनले सुदूरपश्चिमको स्थानीय भाषा, साहित्य, लोकसंस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।
त्यस्तै, नेपाल र भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत उनको सक्रियता रहँदै आएको छ।
भारतमा प्राप्त यस सम्मानले नेपाली साहित्य र सुदूरपश्चिमको साहित्यिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post