काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो।
उहाँले सूचना प्रविधि, जलविद्युत् तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा नयाँ लगानी गर्न र नेपालमा यसअघि गरिएको लगानी विस्तार गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले नेपाल सरकारले लगानीको वातावरण सुधार गर्न कानुनी तथा नीतिगत व्यवस्थालाई सरल र लगानीमैत्री बनाउँदै लगेको जानकारी दिनुभयो।
त्यस्तै, विदेशी लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा लगानीबाट प्राप्त नाफा सहज रूपमा फिर्ता लैजान सक्ने व्यवस्था मिलाउन सरकारले विशेष पहल गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद तथा भारतीय उद्योग परिसङ्घ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गर्नुभएको थियो।
नेपालमा लगानीको सम्भावना र अवसरबारे भारतीय उद्योगी व्यवसायीलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा दुई देशबीच आर्थिक सहकार्य र लगानी विस्तारका विषयमा समेत छलफल भएको थियो।










Discussion about this post