इजरायलमा नयाँ गठबन्धन सरकार गठनका लागि कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका राजनीतिक प्रतिद्वन्द्वी गदी इसेनकोटबीच पुनः वार्ता सुरु भएको छ।
अक्टोबरमा सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनका लागि विभिन्न राजनीतिक विकल्पबारे छलफल अघि बढाइएको अल जजिराले जनाएको छ।
सरकार गठनका लागि नेतान्याहुको लिकुड पार्टीलाई डिसेम्बर ६ सम्मको समय दिइएको छ। निर्धारित समयमा सरकार गठन हुन नसके थप १४ दिनको समय पाउने व्यवस्था छ।
तर, नयाँ सरकारमा अतिवादी अर्थोडक्स यहुदी दललाई सहभागी गराउने, अरब दललाई समेट्ने वा लिकुड पार्टीको नेतृत्वमा राष्ट्रिय एकताको सरकार बनाउने भन्ने विषयमा राजनीतिक दलहरूबीच मतभेद देखिएको छ।
लिकुड पार्टीले नेतान्याहुकै नेतृत्वमा गठबन्धन सरकार गठन गर्न विभिन्न सर्त अघि सारेको छ। प्यालेस्टिनी राज्य स्थापनाको विरोध, गाजा, सिरिया र लेबनानमा इजरायली नियन्त्रण कायम राख्ने तथा सैनिक सेवासम्बन्धी विषयमा पनि सहमति खोजिएको छ।
यता, इसेनकोटले नेतान्याहुको नेतृत्वमा सरकारमा सहभागी हुन अस्वीकार गर्दै आउनुभएको छ। वार्ता सफल हुन नसके विपक्षी दलहरूबीच सहकार्य गरेर आपत्कालीन राष्ट्रिय सरकार गठन गर्न सकिने विकल्पसमेत उहाँले अघि सार्नुभएको छ।
यससँगै इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीचको वार्ता थप पेचिलो बनेको छ। आगामी दिनमा हुने सहमतिले देशको नयाँ सत्ता समीकरण र राजनीतिक दिशा तय गर्ने देखिएको छ।










Discussion about this post