काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न संस्थाले मंसिर २३ गते १४औँ वार्षिक साधारणसभा बोलाएको छ।
पोखराको लेकसाइडस्थित आइएमई हस्पिटालिटीमा बिहान ९ बजे सुरु हुने सभामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांश पारित गरिनेछ। जसअनुसार ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ।
सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट प्राप्त सुझाव समेट्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ।
त्यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीका तर्फबाट दुई जना सञ्चालक निर्वाचित गर्ने तथा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने कार्यसूची रहेको छ।
सभाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
लाभांश तथा साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन्।










Discussion about this post