काठमाण्डौ । नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदैछ ।
समाजका महासचिव शिवकुमार बाँस्कोटाका अनुसार सम्मेलन पर्सि ५ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विषयविज्ञ सहभागी हुनेछन् ।
हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानमा भएका नवीनतम अनुसन्धान तथा उपलब्धिबारे छलफल गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ । साथै प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र पर्वतीय क्षेत्रको विकाससम्बन्धी वैज्ञानिक ज्ञान तथा अनुभव आदानप्रदान गरिनेछ ।
सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति रहनेछन् । त्यस्तै सातवटा मुख्य सत्र र पाँचवटा विशेष वैज्ञानिक सत्रसमेत सञ्चालन हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था तथा विभिन्न व्यावसायिक र प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहनेछ ।
यस सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप प्रभावकारी बनाउनुका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी वैज्ञानिक अनुसन्धानबाट प्राप्त ज्ञानलाई नीतिगत निर्णय प्रक्रियामा उपयोग गर्न सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।










Discussion about this post